चितवन, माघ १२ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले संविधान अनुरुप नै वर्तमान सरकारले गरेको निर्णय नयाँ बन्ने सरकारले उल्टाउन नसक्ने दाबी गर्नुभएको छ ।
प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले नयाँ बन्ने सरकारले पनि संविधान अनुरुप नै निर्णय गर्न पाउने बताउनु भयो ।
वर्तमान सरकारले आवश्यकता अनुसार विभिन्न निर्णय गरेको स्पष्ट उहाँले सबैको सल्लाह बमोजिम नै वृद्धभत्ता लगायतका आवश्यक निर्णय गरिएकोले यसले जनतालाई राहत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नयाँ सरकार बाम गठबन्धनकै बन्ने भन्दै नेपाली कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि धारणा राख्नुभयो ।
बाम सरकारले गर्ने रचनात्मक कार्यलाई कांग्रेसले सदैव सहयोग गर्ने उहाँको भनाई थियो ।
यस्तै चुनावी परिणामलाई लिएर नेतृत्व परिवर्तनका कुरा उठ्न राम्रो नभएको भन्दै सरकारका राम्रा र नराम्रा सबै कांग्रेसका नेता तथा कार्यकर्ताको जिम्मेवारी रहेको बताउनु भयो ।
उहाँले अहिलेको पार्टीको ढाँचालाई बदलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने भन्दै नेतृत्वलाई पनि परिस्कृत गर्दै लैजान आवश्यक रहेको प्रष्ट पार्नुभयो ।