काठमाडौ १२ माघ ।
आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचन कार्यक्रम अन्तरगत निर्वाचन आयोगले आजपनि दलका उमेदवारको दावी विरोधमा उजुरी संकलन गरिरहेको छ ।
बुधबार मनोनयन दर्ता गरेका विभिन्न दलका उमेदवारमाथि आज साँझ ५ बजेसम्म उजुरी संकलनका लागि समय निर्धारण गरिएको आयोगले जनाएको छ ।
राष्टिय सभाको ५६ सिटका लागि हुने निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये १७ जना भने निर्विवरोध हुने देखिएको छ । निर्विवरोध चयन भएका उमेदवारमाथि कुनै उजुरी नपरे आयोगले निर्वाचन अगावै विजयी घोषणा गर्नेछ ।
उमेदवारमाथि परेको उजुरीमाथि भोली छानबिन हुने भएके छ । विहान ११ बजे देखि साझ ५ बजेसम्म उजुरी जाँचबुझका लागि समय तोकिएको आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।
मनोनयन भएका उम्मेदवारको नामावली आइतबार बिहान प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ । उम्मेदवारी फिर्ता लिन चाहेमा सोमबार २ बजे सम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
सोमबार अपरान्ह ३ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सोही दिन निर्वाचन चिन्ह समेत प्रदान गर्नेछ । आगामी माघ २४ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म राष्टिय सभा सदस्य चयनका लागि मतादन हुनेछ ।
राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थानका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकलाई आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यामलाई समेत आचारसंहिता लागू हुनेछ । आचारसंहिता अनुसार आजदेखि उमेदवारले पक्ष वा विपक्षमा मतदातासँग भोट माग्न पाइदैन ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८–८ जनाका दरले ५६ जना निर्वाचनबाट चुनिने र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।