काठमाण्डौ ,माघ ११ ।
नेपाली कांग्रस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनले पर्साको विभिन्न स्थानमा पुगेर तयार बनाएको स्थलगत प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि मिच्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोलीले राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर प्रतिवेदन बुझाएका हुन् । स्थानीयबासीसँगको छलफल र दुवै देशको सीमा सम्बन्धि नक्साको अध्ययन पश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियुका अध्यक्ष नविना लामाले जानकारी दिनुभयो ।
यही माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए ।
प्रतिवेदनमा स्थलगत अवलोकनका क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ । जसमा दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्रयाँइ गरेको जस्ता समस्या स्थलगत अध्ययनका क्रममा भेटिएको पनि उल्लेख छ ।
प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले करिब तीन किमी दूरीका ठाउँठाउँमा करिब ५० बिगाहा क्षेत्रफल नेपाली भूमि भारततर्फ पर्न गएको उल्लेख गरिएको छ ।
उनीहरुले सीमाङ्कनका आधारमा बनेका सीमा नक्साको पुनरावलोकन गर्नुपर्ने, सीमा नक्सा गर्दा मुख्य पिलर र स्थानीयवासीले उपभोगको आधारमा पुनरावलोकन गर्नुपर्ने, सीमाजस्ता संवेदनशील विषयमा प्राविधिक नभई राष्ट्रियस्तरबाट नै सहमति र हस्ताक्षर हुनुपर्ने माग गरेका छन् ।
साथै उतm टोलिले , सिमानाका रुपमा रहेका ५७ वटा नदीनालाको तटबन्ध गरिनुपर्ने, भारतीय पक्षले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइका संरचना भत्काउनुपर्ने, सीमा समस्याको दीर्घकालीन समस्याका लागि काँडेतार लगाउनुपर्ने समेत माग गरेका हुन् ।