काठमाडौं, माघ १० ।
आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ताको प्रक्रिया सुरु भएको छ । त्यसका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दर्ता सातवटै प्रदेशका उच्च अदालतमा गएर गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्नेछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ । प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले मतदान गर्न पाउनेछन् ।
निर्वाचनबाट ५६ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८÷८ जनाको दरले ५६ जना निर्वा्चित हुनेछन् भने तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वा्चित हुनेछन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाइने बताइएको छ ।
आज दर्ता गरेका उम्मेदवारको विरोधमा भोलि उजुरी दिन सकिने छ भने उक्त उजुरीमाथि छानबीन गरी आगामी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्नेछ ।
सोही दिन उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको छ भने आगामी १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । मतदान भने माघ २४ गते १० देखि ३ बजेसम्म हुनेछ ।