काठमाडौ ५ माघ ।
गत मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकमा विजयी भएका सदस्यहरुलाई आज निर्वाचन आयोगले प्रमाणपत्र वितरण गर्दैछ ।
राजधानीको कान्तिपथस्थित आयोग केन्द्रिय परिसरमा दिउँसो १ बजे एक कार्यक्रमका बीच प्रदेशसभा अन्तर्गत विजयी भएका २ सय २० जनालाई प्रमाणपत्र वितरण गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सरकारले प्रदेश प्रमुख नियुक्त गरेकै दिन आयोगले प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । प्रदेश सभा सदस्यले प्रदेश प्रमुख नियुक्त भएको सात दिन भित्र आ–आफ्ना प्रदेश प्रमुखबाट सपथ लिनु पर्ने संवैधानिक बाध्यता छ ।
आयोगले प्रमाणपत्र बितरण गरेसँगै विजयी सदस्यको विवरण प्रदेश प्रमुखलाई पठाउनेछ । त्यस्तै सम्बन्धित दललाई त्यसको जानकारी गराई विजयी सदस्यको नामावली राजपत्रमा प्रकाशन समेत गर्नेछ ।
प्रदेशसभा सदस्यहरु आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाता समेत रहेकाले निर्वाचन आयोगले आवश्यक प्रक्रिया तत्काल अघि बढाउँदै प्रमाणपत्र वितरण गर्न लागेको हो ।