काठमाडौं ,माघ ४ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुखका सम्बन्धमा आफ्नो दलको असहमति रहेको बताउनु भएको छ ।
नियमित स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएपनि व्यक्ति र स्थानमा सहमति नरहेको बताउनुभयो । यद्धपि, ढिलै भएपनि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको ओलीको भनाई थियो ।
प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले नयाँ सरकार बनेपछि देउवा सरकारको निर्णयमा पुनर्विचार हुनसक्ने भन्दै उहाँले अहिले यसको विपक्षमा आन्दालन नगर्न पनि आग्रह गर्नुभयो ।
अस्थायी राजधानी तोकिएको विषयमा अहिले मुलुकका विभिन्न ठाउँमा आन्दोलन भईरहेको भन्दै उहाँले अनुकुलता, आवश्यकता, र सम्भावनालाई हेरेर प्रदेश राजधानीको निर्णय प्रदेश सभाले गर्ने प्रष्ठ पार्नुभएको हो ।
सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबारे सबैकुरा अहिले भन्न नसकिने भन्दै अध्यक्ष ओलीले उनीहरुका बारेमा बुझेर नयाँ सरकारले आवश्यक निर्णय लिने बताउनु भयो ।
अर्को प्रसंगमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी गर्नुभएको छ ।
उहाँले पार्टी एकताका विषयमा अब एकता संयोजन समितिको बैठक बसेर थप छलफल अघि पनि बढाउने बताउनुभयो ।
ओली पुस २६ गते नियमित स्वास्थ जाँचका लागि थाईल्याण्डको राजधानी बैंकक जानुभएको थियो । उहाँले आफ्नो स्वास्थ ठिक रहेको पनि बताउनुभयो ।