काठमाडौं ,४ माघ ।
निर्वाचन आयोगले अस्थायी मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिएको ठहर गरेको छ ।
आज काठमाडौंमा आयोजित राष्ट्रियसभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौती थपिएको बताउनु भयो । यादवले त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण पनि गराउनु भयो ।
उहाँले निर्वाचनमा देखिएको सुरक्षा चुनौतीलाई हल गर्न स्थानीय राजनीतिक दलसँग बलियो सहकार्य गरेर अघि बढन पनि सम्बन्धित निर्वाचन अधिकृतहरुलाई सचेत गराउनु भएको छ ।
उहाँले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
यसैबीच , आयोगले राष्ट्रिय सभाको निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । मतगणना झन्झटिलो भएकाले यसलाई सहज बनाउन कम्प्युटरमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आयोगले निर्वाचनका लागि आवश्यक निर्दे्शिका र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको पनि स्पष्ट पारेको छ ।
आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।