१ माघ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बैंकक बसाई लम्बिने भएको छ । नियमित उपचारको क्रममा ओलीलको बैंकक बसाई निर्धातिर समयभन्दा लामो हुने निश्चित भएको छ ।
ओलीसँगै बैंककमा रहेका पत्रकार तथा एमाले प्रचार विभाग सचिव विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा ओलीले केही दिन बैंककमै आराम गर्ने बताएका छन् । सबै रिपोर्ट आएको बताउँदै रिजालले ओलीको स्वास्थ्य राम्रो रहेको समेत बताएका छन् । सँगै बैंकक पुगेका चिकित्सकहरु नेपाल फर्किसकेको समेत बताएका छन् ।
एक हप्ताको लागि भनेर ओली बैंकक गएका थिए तर रिजालको स्टाटसले कम्तिमा पनि १० दिन र बढीमा १५ दिन लाग्ने देखिएको छ ।
ओलीको स्वास्थ्य अवस्था पूरै ठिक भएर पनि पूर्व निर्धारित समयलाई लम्ब्याउँदैछ सबैको चासोको विषय बनेको छ । रिजालले एक दुई दिन बैंककमै आराम गर्ने बताएपनि कति दिन भन्ने खुलाएका छैनन् ।
यस्तो रिजालको स्टाटस

ओलीले बसाई लम्ब्याएका कारण पार्टी एकता, राष्ट्रि सभा चुनाव र सरकार निर्माणको कामले खासै गति लिन सकेको छैन । एमाले र माकेको कार्यदलले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गरेपनि कुनै टुंगोमा पुग्न सकेको छैन । पार्टी एकताबारे छलफल हुन सकेको छैन र भएपनि परिणाममुखी हुँदैन ।
ओली बैंकक भएका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काम पाएका छैनन् । पार्टी एकता, सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको लागि भागबण्डाबारे प्रचण्डले एमालेका अन्य नेताहरुसँग छलफल गरेर कुनै निर्णय गर्न सक्ने छैनन् । त्यो बुझेरै होला प्रचण्डले त्यसमा समय खर्च गरेका छैनन् । पार्टी एकता र सरकारको कामलाई गतिमा सम्पन्न गर्न चाहने प्रचण्डलाई यतिबेला उकुशमुकुश जस्तै भएको छ ।
यसअघि बैंककमा ओलीलाई भेट्न भारती गुप्तचर निकाय ‘रअ’का प्रमुख अनिलकुमार धसमाना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका मित्र पूर्वविदेश सचिव जय शंकरसँग पनि भेट गरेको समाचार स्रोतहरुले बताएका थिए ।
एमाले पोलिट्ब्यूरो सदस्य तथा प्रवक्ता विष्णु रिमालले अध्यक्ष ओली मंगलबार नेपाल फर्किने टिकट नभएका कारण बसाई लम्बिएको दाबी गर्छन् । उनले सोमबार नेपाल फर्कने टिकट भएपनि मंगलबारसम्म उपचार गर्नुपर्ने भएको बताए ।
स्रोतहरुका अनुसार एमाले अध्यक्ष ओलीको दुई कारणले लम्बिएको हो ।
१. भारतीय पक्षसँग भएको पहिलो चरणको भेटको जवाफ आएको छैन । जय शंकर र धसमाना भेटवार्ता पछि बैंककबाट भारत फर्कि सकेका छन् । दुबै जनाले ओलीसँग भएको भेटवार्ताबारे कुनै जानकारी गराएका छैनन् । फेरि सम्पर्कमा जोडिने भन्दै भारतीय प्रतिनिधि दिल्ली उडेका थिए ।
२. अर्को छिमेकी चीनका प्रतिनिधिसँगको भेटवार्ताको तयारी भइरहेको छ । आज वा भोली चीनका उच्च अधिकारीसँग भेटवार्ता हुँदैछ । चीनसँग पहिलो चरणको भेटवार्ता सकेर यो दोस्रो चरण हो । भेटवार्ताले कति समय लिने हो भन्ने अहिले नै भन्न सकिँदैन ।
ओली नेपालको आगामी राजनीतिबारे दुबै छिमेकीको नयाँ धारणा बोकेर मात्रै नेपाल फर्किने छन् । दुबैतिरबाट भोली नै जवाफ आए बुधबार स्वादेश फिर्ता हुनेछन् भने नभए केही दिन लाग्नेछ ।