काठमाडौं , १ माघ । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले आगामि बुधवारसम्म राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउने भएका छन् ।
बाम गठबन्धनको कार्यदलले माघ ३ गतेसम्ममा राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिनुभयो ।
राष्ट्रियसभा र प्रदेशका मुख्यमन्त्री तथा सभामुख लगायत पद बाँडफाँडका लागि ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ । माघ १० मा राष्ट्रियसभा सदस्य उम्मेवार मनोनयन गरिसक्नुपर्ने र त्यसअघि नै दलहरुले उम्मेदवार चयन गर्नुपर्ने भएकाले माघ ३ भित्र बाँडफाँड टुंगो लगाउन लागिएको उहाँले बताउनु भयो ।
बामपन्थी गठबन्धनको ७ मध्ये ६ प्रदेशमा बहुमत रहेकोमा माओवादीले प्रदेशतर्फ २ मुख्यमन्त्री र ४ सभामुख मागेको छ ।
एमालेले मुख्यमन्त्री पाएका प्रदेशमा माओवादीले सभामुख दाबी गरेको जनाईएको छ । यसबारेमा कार्यदलमा छलफल भईरहेको जनाईएको छ ।
सबै पद ६०र४० कै अनुपातमा बाँडिने तर त्यसमा व्यक्तिको व्यवस्थापन तथा पार्टी एकताको भावना समेटिने नेताहरुले बताउँदै आएका छन् ।
राष्ट्रियसभाका ७ प्रदेशका ५६ उम्मेदवारमा भने सम्बन्धित पार्टीका मतदाता संख्याकै आधारमा बाँडफाँट हुने नेताहरुले बताएका छन् ।
स्थानीय तहमा माओवादीको मत एमालेको भन्दा दुई तिहाई कम छ भने प्रदेशसभामा पनि एमालेभन्दा आधा कम छ ।