काठमाडौं , पुस २७ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका लागि भूकम्प पीडितलाई उपलब्ध गराउँदै आएको राहत रकम वृद्धि गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
रकम अभावमा पीडितले पुनर्निर्माणलाई गति दिन नसकेको तर्फ सरकार जानकार रहेको भन्दै रकम वृद्धिबारे सरोकारवाला निकायसँग छलफल गर्ने आश्वासन दिनुभयो ।
नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी नेतृत्वको टोलीले बुझाएको मागपत्र बालुवाटारमा आज बुझ्दै प्रधानमन्त्री देउवाले अहिले प्राप्त गरेको राहत रकम थोरै भएकै कारण भूकम्प पिडित समस्यामा परेको स्वकार गर्नुभयो ।
माग पत्रमा पुनर्निर्माणका लागि छुट्टाइएको रकम अपुग भएको, निर्माण सामग्रीको सर्वसुलभता, प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोटलाई तोक्नुपर्ने र निर्वाचन प्रचारका क्रममा घाईते नुवाकोटका विद्यार्थी नेता उपेन्द्र मिश्र लगायत मुलुकभरका घाईतेको सरकारले निस्शुल्क उपचार गर्नुपर्ने उल्लेख छ ।
घाईतेको उपचार सरकारले व्यहोर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनु भएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिनुभयो ।
प्रदेशको अस्थायी मुकाम तोक्नेबारे भने सरकारले गृहकार्य जारी राखेको भन्दै प्रधानमन्त्रीले त्यसबारे अहिलेनै आश्वासन दिन नसक्ने बताउनुभएको थियो ।