काठमाडौ ,२६ पौष ।
बाम गठबन्धनका शीर्ष नेताहरुले पार्टी एकताको भावना अनुसार काम गर्न संयुक्त कार्यदललाई निर्देशन दिएका छन् ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको दुवै दलका शिर्ष नेतासहितको कार्यदल बैठकमा अध्यक्षद्वयले कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गर्नुभएको थियो ।
कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।
प्रतिवेदन तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई आधार बनाइने कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।
कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो भन्दा छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन पेश गर्नुभन्दा भन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको प्रतिवेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष समितिमा जाने पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका सदस्यको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बनाएका थिए ।
कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल, र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षामान पुन र मातृका यादव सदस्य छन् ।