काठमाडौ ,१५ पौष ।
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिकबाट सांसदका लागि दलहरुले पठाएको नामावलीमा आज छलफल गर्दैछ । सबै दलले हिजो बुझाएको नाममा आयोगले आज छानविन गर्ने तयारी भएको जनाएको छ ।
दलले पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए–नभएको छानवीन गरी केही नमिलेको भए मंगलबारसम्म सच्याउन समय दिने आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही गल्ती नभेटिए सोमबारसम्ममा आयोगले सबै प्रतिनिधिलाई निर्वाचित घोषणा गर्नेछ । सातवटा प्रदेशमा समानुपातिकका २ सय २० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ सिट प्राप्त गरेको छ ।
यस्तै संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशील साझाले तीन–तीन, राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले एक–एक जना सांसद पाएका छन् । प्रतिनिधिसभाको भने समानुपातिक तर्फको सिट बाँटफाट अझै भएको छैन ।