काठमाडौँ, १४ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै मन्त्री पदबाट फिर्ता बोलाउने पार्टी निर्णयअनुसार गिरीलाई फिर्ता बोलाइएको राप्रपा प्रवक्ता भूवन पाठकले जानकारी दिनुभयो ।
मन्त्री गिरीलाई मन्त्री पदबाट बर्खास्त गर्न राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको छ ।
उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष कमल थापा र मन्त्री गिरीबीच सहरी विकास विभागको महानिर्देशक र मन्त्रालयको सचिव हेरफेरको विषयमा विवाद थियो ।
सहरी विकास मन्त्रालयमा रमेशप्रसाद सिंहलाई सरुवा गर्ने प्रस्ताव राखेको भन्दै अध्यक्ष थापा र गिरीबीच मन्त्रिपरिषद् बैठकमै विवाद भएको थियो ।
आफूलाई सल्लाह नगरी सचिव हेरफेर गर्ने प्रस्ताव बैठकमा राखेको भन्दै थापाले गिरीको राजीनामा माग्नु भएको थियो ।
मन्त्री गिरीले भने पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने बताउनु भयो ।