एजेन्सी ८ असार ।
अलग गोर्खाल्याण्डको माग गर्दै भारत दार्जलिङमा आन्दोलन चर्किएपछि त्यहाँका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेर अध्ययनरत विद्यार्थीलाई घर जान अनुमति दिएको छ ।
बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन चल्न नसकेपछि विद्यालयकै सवारी साधनले भोली सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउने तयारी भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ ।
मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारी साधनले भोली बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पु¥याउनु पर्नेछ । विद्यालयले अन्य सवारी साधन भने प्रयोग गर्न नपाइने मोर्चाले जनाएको छ ।
गोर्खाल्यान्ड राज्य घोषणा नहुन्जेल आन्दोलन जारी रहने भएकाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएको मोर्चाका सचिव तामाङले बताउनु भयो ।
दार्जिलिङमा भारत, नेपाल, भुटान लगायतका देशबाट अध्ययनका लागि जाने विद्यार्थीको संख्या ठूलो छ ।
यसैबीच आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आजका बोलाउनु भएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाका नेतृ निरा शर्माले जानकारी दिनुभयो ।
केही दिनअघि प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष विमल गुरुङको निवासमा छापा मारेपछि नेताहरू भूमिगत भएको बताइएको छ ।