सिरिया, असार ६ ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियाली सेनाको लडाकु विमान खसालेपछि रुसले कडा शब्दमा चेतावनी दिएको छ ।
रुसले सिरियाली लडाकु विमानमाथि भएको हमलालाई आफ्नो विमानमाथि भएको हमलाका रुपमा लिएको टिप्पणी गर्दै जवाफी कारवाही गर्ने चेतावनी दिएको छ ।
अमेरिकी गठबन्धन सेनाका अनुसार उसले आइतबार रक्कामा अमेरिका समर्थित विद्रोहीमाथि आक्रमण गर्न परिचालित सिरियाली लडाकु विमान खसालेको हो ।
सिरियाको प्रमुख सहयोगी मुलुक रुसले सो घटनापछि हवाई दुर्घटना रोक्नका लागि अमेरिकासँग हुँदै आएको सूचना आदान प्रदान सम्झौतालाई निलम्बन गरिएको जनाएको छ ।
अमेरिकाले सिरियाली विमान खसाल्नु अघि यस्तो सम्झौता अनुसार सूचना आदान–प्रदान नगरेको रुसको आरोप छ । सिरियाले उक्त घटनालाई अमेरिकाका तर्फबाट गरिएको ‘निन्दनीय हमला’ भनेको छ । उसले यसको खतरनाक परिणाम हुने चेतावनी पनि दिएको छ ।