नयाँदिल्ली, ३ असार ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गर्नुभएको छ । उहाँको कार्यकाल आउदो महिना सकिदैछ ।
पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गर्नुभएको थियो ।
उहाँले माफी दिन अस्विकार गर्नु भएकामध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त र अर्का सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् ।
उल्लेखित दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ ।
राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् ।
यसअघि पूर्व राष्ट्रपति प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिनुभएको थियो ।