काँकडभिट्टा ,असार ३ ।
दार्जिलिङमा केहि समयदेखि चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा शनिवार सेनाले चलाएको गोली लागेर तीन जना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको छ ।
सेनाको गोलीवाट दार्जिलिङको गोक वस्तीका विमल शाहसंकर र कैजलेका सुनिल राईको घटनास्थलमै र रेलिङ वस्तीका महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा मृत्यु भएको हो । घटनामा १२ जनाभन्दा वढी घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।
गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोधमा प्रदर्शन गरिरहेका मोर्चा कार्यकर्तामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको गोर्खाल्याण्डका सहसचिव विनय तामाङले बताउनुभयो ।
मोर्चा समर्थक र सुरक्षाकर्मीवीच विहानैदेखि सिंगमारी क्षेत्रमा झडप भएको थियो । करिव डेढ घण्टा भएको झडपमा आक्रोसित प्रदर्शनकारीले ढुंगामुडा गरेपछि सुरक्षाकर्मीले पहिला अश्रु ग्यास र पछि अन्धाधुन्द गोली वर्साएको उहाँले बताउनु भयो ।
घटनामा एक सुरक्षा अधिकारीको मृत्यु भएको भनिए पनि सुरक्षा स्रोतले पुष्टी गरेको छैन । बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले ट्वीटमार्फत आइआरवी कमान्डेन्ड किरण तामाङ घाइते भएको जानकारी गराउनु भएको छ ।
उहाँले शनिवार कोलकातामा दार्जिलिङका विभिन्न जातीय वोर्डका प्रतिनिधिसँगको छलफलमा आतंकवादी संगठनहरुसंग गोजमुमोको साठगाठ रहेको आरोप लगाउदै आतंकवादी संगठनकै अगुवाईमा दार्जिलिङमा हिंसा भडकिएको दाबी गर्नुभयो ।
मोर्चाको सम्लग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसंग रहेको दाबी उहाँको छ।
अलग राज्य गोर्खाल्याण्डको मागका कारण सिंगो दार्जिलिङ आन्दोलित छ । शनिबारको हत्या घटनाविरुद्ध गोर्खाल्यान्ड समर्थक सडकमा निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । दार्जिलिङसहित खरसाङ, कालेबुङ र मिरिकमा समर्थकले स्वतस्फूत जुलुस प्रदर्शन गरेका छन् । दार्जिलिङमा अहिले सेनासहित करिव ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पश्चिम वंगाल सरकारले राज्यका सवै स्कुलमा ९कक्षा १ देखि १० सम्म वंगला भाषाको पठन पाठनलाई अनिवार्य गर्ने निर्णय लिएपछि दार्जिलिङका नेपालीभाषी आन्दोलित बनेका हुन् । एक दशकदेखि गोर्खाल्याण्ड आन्दोलनको अगुवाई गर्दै आएको गोजमुमोले भाषा विवादसँगै छुट्टै राज्यको आन्दोलन चर्काएको हो ।
मोर्चा भन्छ , यो अन्तिम लडार्इं’
आन्दोलनरत मोर्चाले गोर्खाल्याण्ड प्राप्तिका लागि यो अन्तिम लडाईँ हुने दावी गर्दै भनेको छ , ‘अवको आन्दोलन निर्णायक हुनेछ’,
मोर्चाका अध्यक्ष तथा गोर्खाल्याण्ड आन्दोलनका कमाण्डर गुरुङले भन्नुभयो , ‘अव गोर्खाल्याण्ड वाहेक कुनै कुरामा सम्झौता हुदैन । वार कि पार हुन्छ ।’ उहाँले आन्दोलन सफल वनाउन सवै विपक्षी दललाई आव्हान पनि गर्नुभएको छ ।
मुख्यमन्त्री वेनर्जीले गोर्खाल्याण्ड आन्दोलनलाई निस्तेज गर्ने उद्देश्यले यसअघि राई, लिम्वु, तामाङ, मगरलगायतका दर्जनभन्दा वढी जातीय विकास वोर्ड गठन गर्नुका साथै जातीय विकास वोर्डका नाममा करोडौ रकम समेत बाँडेको गोजमुमाका सहसचिव विनय तामाङको भनाई छ । उहाँ भन्नुहुन्छ , हामीवीच एकता हुन नदिने उनको उद्देश्य हो ।’
गोजमुमोलाई विपक्षी दलहरुले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ९जीटीए० त्यागेर नयाँ शिरावाट आन्दोलन गर्न सुझाएका छन् । तर, गोजमुमोले विपक्षी दलहरुको आग्रहलाई मानिसकेको छैन । दार्जिलिङकै पुरानो राजनीतिक शक्ति अखिल भारतीय गोर्खा लिगका महासचिव प्रताप खातीले गोजमुमोलाई पहिला जीटीए खारेज गर्न अनुरोध गर्नुभयो ।