एजेन्सी ,असार १ ।
बेलायतको लण्डनको एक भवनमा भीषण आगलागीबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो ।
आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालाई सकुशल उद्धार गरेका छन् ।
२४ तले ग्रेनफेल टावरमा एक सय २० फ्ल्याट रहेको र आगोले सबै जसो फ्ल्याटमा क्षति पुगेको छ । आगलागी भएका बेला टावरमा सयौं मानिस रहेको बताइएको छ ।
टावरमा अझै पनि केही मानिस फसेको र केही बच्ने प्रयासमा झ्यालबाट हामफालेको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीमा परि घाइते भएका ७८ जनाको लण्डनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये १८ जनाको अवस्था गम्भीर छ । यसैविच प्रधानमन्त्री थेरेसा मेले घटनाको विषयमा पूर्ण रुपमा अनुसन्धान हुने बताउनु भएको छ ।