एजेन्सी २७ जेठ ।
अमेरिकाले कतारमाथिको प्रतिबन्ध खुकुलो बनाउन खाडी मुलकसँग आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले कतारमाथिको प्रतिबन्धले मानवीय संकटको अवस्था आउन सक्ने खतरा बढेको भन्दै प्रतिबन्ध केही खुकुलो बनाउन आग्रह गर्नुभएको छ ।
आतंकवादलाई प्रश्रय दिएको भन्दै विभिन्न सात देशले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेपछि अरब क्षेत्रमा तनाव बढेको छ ।
यद्यपी कतारले आतंककारीलाई सहयोग गरेको आरोप प्रमाणित भएमा भने आवश्यक कदम चाल्न बाँकी रहेको टिल्लर्सनको भनाई छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले आतंककारीलाई सहयोग गरेको आरोप लगाउँदै त्यसलाई रोक्नका लागि तत्काल कदम चाल्नु पर्ने बताउँदै आउनु भएको छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध तोडेका छन् ।
यस्तै यमन, मलेसिया तथा लिबियाले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारले इस्लामिक आतंकाकारी तथा अतिवादीलाई साथ तथा सहयोग गरेको आरोप लगाएका छन् ।