एजेन्सी, जेठ ४ ।
जापानी शाही खानदानी राजकुमारी माकोले सर्वसाधारण व्यक्तिसँग विवाह गरेर शाही शाही हैसियत त्याग गर्ने भएकी छन् । राजकुमारी माको सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनी यानिकी राजकुमार फुमिहितोकी जेठी छोरी हुन् ।
राजकुमारीले आफूसँग अध्ययन गरेको केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी छन् । राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ मा टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभसिटिमा अध्ययन गर्दा भएको थियो ।
कोमुरो एक ‘ल फर्म’ मा काम गर्छन् । जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्ने परम्परा रहेको छ ।
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व ‘इन्गेजमेन्ट’को तयारीबारे योजना भईरहेको बताएको छ ।
हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए । जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छान्न अकिहितोका छोराहरू युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो छन् ।