एजेन्सी ,१ जेठ ।
द्वन्द्वग्रस्त मुलुक यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु भएको छ । हैजाको प्रकोपबाट ८ हजार ५ सय भन्दा बढी बिरामी परेको अन्तराष्ट्रिय रेडक्रस समितिले जनाएको छ ।
बिरामीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरु यमनमा पुगेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो ।
यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको संक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित बनेको यो दोस्रो घटना हो ।
द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्र समेत विस्थापित बनेपछि लाखौं मानिसको स्वास्थ्य उपचारमा समेत समस्या भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण त्यहाँका करिब १ करोड ७० लाख सार्वसधारण सफा खानेपानी पिउनबाट पनि बन्चित बनेको अधिकारीहरुले बताएका छन् ।
यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाख भन्दा बढी विस्थापित बनेको अन्तरर्राष्ट्रिय सन्चार माधयमहरुले जनाएका छन् ।