एजेन्सी, बैशाख २३ ।
भारतको नयाँदिल्लीमा रहेको एउटा उद्योगका लागि ल्याइएको ग्याँस अकस्मात चुहिएका कारण नजिकै रहेको विद्यालयका करिब दुई सय जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएका छन् ।
उक्त विद्यालयमा पढाई भइरहेका बेला रासायनिक ग्याँस फैलिएर विरामी भएपछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
रासायनिक ग्याँसका कारण विद्यार्थीहरूको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरीले बताएका छन् ।
बिरामीहरूलाई नयाँदिल्लीका चार वटा अस्पतालमा भर्ना गरिएको छ भने कोही पनि गम्भीर तथा सिकिस्त बिरामी नभएको सबै सामान्य अवस्थामा रहेको एक प्रहरीले स्थानीय पत्रकारलाई बताएको छ ।
उनले ग्याँस चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताए ।
भारतमा ग्याँस चुहावटका घटना असामान्य होइन । यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्याँस चुहावट हुँदा छ जनाको मृत्यु भएको थियो ।