मोगादिसु, २१ बैशाख । अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका निधन भएको छ ।
सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उहाँको हत्या गरेको सूचना तथा सञ्चार मन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गर्नुभएको छ ।
“मैले यो दुःखद् जानकारी गराउनु परेको छ की सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मोगादिसुमा अज्ञात व्यक्तिले गोली प्राहार गरी हत्या गरेको छ, सुरक्षा निकायहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्,” उहाँको आत्माले शान्ति पाओस्, ओस्मनले भन्नुभयो ।
मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली पनि खटाएको उहाँले जानकारी दिनुभयो ।
सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीहरुलाई निलम्बन गरि नियन्त्रणमा लिइएको बताउनुभयो ।
सिराजी सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छो सदस्य हुनुहुन्थ्यो भने गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बन्नुभएको थियो ।