एजेन्सी, बैशाख १६ ।
उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको भन्दै अमेरिकाले कडा चेतावनीसँगै नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेको केहीँ समयमै उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको जनाएको हो । उत्तर कोरियाले परीक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।
अमेरिकी सरकारको एक सूत्रलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले पनि मिसाइल परीक्षण असफल भएको जनाएको छ । दक्षिण कोरियाका सेना प्रमुखकाअनुसार उक्त मिसाइल राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्योनगान प्रान्तबाट गरिएको हो ।
उत्तर कोरियाले परीक्षण गरेको मिसाइलका बारेमा पूर्ण जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । उत्तर कोरियाले पनि त्यस बारेमा कुनै जानकारी दिएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले आफ्नो मुख्य सहयोगी चीनलाई समेत बेवास्ता गर्दै मिसाइल परीक्षण गरेको दाबी गरेका छन् । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पुनः तनाब बढ्ने सम्भावना बढ्दै गएको छ ।