एजेन्सी, बैशाख १५ ।
मेसेडोनियाको संसद्मा सभामुख पदमा एक अल्बेलियाली जातीय नेतालाई निर्वाचित गरेको विरोधमा प्रदर्शनकारीहरूको समूहले संसद् भवनभित्र प्रवेश गरी सांसद्हरूमाथि हमला गरेको छ ।
उक्त घटनामा समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायभ सहित करिब दश जना सांसद् घाइते भएका छन् ।
पूर्व प्रधानमन्त्री ग्रेभस्कीको ‘भिएमआरओ’ पार्टीका समर्थकहरूले नयाँ चुनावको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
समाजवादी प्रजान्तान्त्रिक पार्टीले अल्बेनियाली जातीय पार्टीसँग गठबन्धन बनाएपछि संसद्ले अल्बेनियाली जातीय पार्टीका तालर जाफेरीलाई सभामुख बनाउने निर्णय गरेपछि प्रदर्शनकारीहरू आक्रोसित भएर संसद् भवनभित्र प्रवेश गरेको थियो ।
प्रदर्शनकारीहरूको करिब दुई सय समूह एकसाथ संसद् भवनभित्र प्रवेश गरेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनको लागि ग्रिनेडसमेत प्रहार गरेको थियो ।
उक्त घटनामा प्रदर्शनकारी र प्रहरी गरी लगभग ४८ जना घाइते भएको स्थानीय टेलिभिजन च्यालनले जनाएको छ ।
मेसेडिनियाको सांसद्मा भएको आक्रमणको अमेरिका, नेटो, युरोपेलीयन युनियन तथा अन्य देशहरूले समेत आलोचना गरेका छन् ।