एजेन्सी, बैशाख ६ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकाको विस्कन्सिन राज्यमा रहेको उद्योगको भ्रमणको क्रममा ट्रम्पले उक्त आदेश पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त पत्रमा हस्ताक्षर गर्दै उनले भने ‘यो कार्यले विश्वसामु ठुलो सन्देश प्रवाह हुने र राम्रो संकेत दिनेछ, हामीले हाम्रा देशका कामदारलाई संरक्षण गर्नेछौं, जागिरको प्रतिरक्षा गर्छौ र अन्त्यमा अमेरिकी नागरिकलाई नै पहिलो प्राथमिकतामा राख्नेछौं’ भन्दै ट्रम्पले सयाँै मजदुरहरूको अगाडि कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
सो आदेशबाट बाइ अमेरिका, हाई अमेरिका नीति जारी गरी अमेरिकामा उत्पादन भएका सामान खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश जारी गरेको सरकारी अधिकारीले जनाएका छन् ।
राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले सो आदेश पछि अमेरिका थप बलियो हुने कुरामा विश्वास व्यक्त गरेका छन् । उक्त आदेशमा विशेष दक्षता भएका कामदारको आवश्यकता भए विदेशी कामदारलाई लिइने पनि उल्लेख गरिएको छ ।