एजेन्सी, बैशाख ५ ।
म्यानमारमा जारी रहेको जल महोत्सवको क्रममा करिब दुई सय ८५ जनाको ज्यान गएको छ भने करिब एक हजार ७३ जना मानिस घाइते भएका छन् ।
म्यानमारमा नयाँ वर्ष स्वागत गर्ने क्रममा जल महोत्सव मनाउने परम्परागत रहेको छ । अघिल्लो वर्षमा दुई सय ७३ जनाको मृत्यु भएको थियो भने यो वर्ष १३ जना बढी रहेको ‘ग्लोबल न्यू लाईट अफ म्यानमार’को तथ्याङ्कले जनाएको छ ।
यसैबीच, जल महोत्सवको चार दिनमा एक हजार दुई सय वटा अपराधिक घटनाहरू जस्तै कार दुर्घटना, लागू औषधको प्रयोग, लुटपाट, समूहगत भिडन्त जस्ता हिंसात्मक घटनाहरू दर्ता भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु भएका व्यक्तिहरू म्यानमारकै विभिन्न राज्यका रहेका छन् । सो जल महोत्सवमा मारिनेहरूमा नेपिताउमा १० जना, याङगोनमा ४४ जना, मान्दालायमा ३६ जना, तानीन्थार्यीमा ११ जना, बागोमा ३७ जना, माग्वेमा ११ जना, मोनमा २० जना, राखिनमा १७ जना, शानमा २९ जना र अयेयावाड्डी क्षेत्रमा २८ जनाको ज्यान गएको छ ।
यस वर्षको म्यानमारको परम्परागत जल महोत्सव पर्व गत बिहीबारदेखि आइतबारसम्म सञ्चालन गरिएको थियो ।