एजेन्सी, बैशाख ३ ।
भारतको प्रमुख तीन शहर मुम्बई, हैदराबाद र चेन्नईस्थित विमानस्थलबाट आज विमान अपहरण प्रयासको हल्लापश्चात विमानस्थलमा उच्च सतर्कता अपनाएको त्यहाँका एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।
प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल मुम्बई, हैदराबाद, चेन्नईबाट विमान अपहरणको सूचना सुरक्षा निकायलाई एक महिलाबाट गएराति इमेलमार्फत आएपछि उच्च सतर्कता अपनाइएको मुम्बई प्रहरीले जनाएको छ । उक्त महिलाले आफूले छ अज्ञात केटाहरूले विमानस्थलमा सम्भावित आक्रमण हुन लागेको र मुम्बई, हैददरावाद, चेन्नइ विमानस्थल रहेको भन्ने कुराकानी सुनेको भनी प्रहरीलाई इमेल गरेकी जानकारी गराएकी हुन् ।
भारतको विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको अर्धसैनिक भारतीय औद्योगिक सुरक्षा बलका उच्च अधिकारीले सम्भावित विमान अपहरणको सूचना पाएपछि ती विमानस्थलमा सुरक्षास्थितिलाई कडा बनाइएको जनाए ।
प्राप्त सूचनाअनुसार विमानस्थल सुरक्षार्थ खटिएको अर्धसैनिक बलले आफ्ना कुकुरको सहायतामा विमानस्थलको निगरानी बढाएका थिए भने विमान कम्पनीलाई पनि सम्भावित अपहरण प्रयासलाई असफल पार्न थप सतर्कता अपनाउन सल्लाह दिइएको थियो । अधिकारीले इमेलका विषयमा अनुसन्धान सुरु गरेको बताए ।
भारतले यसअघि सन् १९९९ को डिसेम्बरमा नेपालको राजधानी काठमाडौंबाट दिल्लीका लागि छुटेको भारतीय एअरलाइन्सको आई सी ८१४ को उडानलाई एक लडाकु समूहले अपहरण गरेपछि त्यसलाई सुरक्षित रूपमा समाधान गरेको थियो ।