एजेन्सी, बैशाख ३ ।
संसारकै सबैभन्दा वृद्ध मानिएकी इटालीके एमा मोरानोको मृत्यु भएको छ । ११७ बर्ष १३७ दिन उमेरमा १५ अप्रिल शनिबारको दिन मृत्यु भएको हो ।
२९ नोभेम्बर १८९९ मा इटालीमा जन्मिएकी एमा मोरानोलाई उन्नाइसौं शताब्दीकी एक मात्र जीवित व्यक्ति मानिन्थ्यो । दुईवटा विश्वयुद्ध देखेकी एमाको पालामा इटालीमा नब्बेभन्दा बढी सरकार परिवर्तन भएको बताइएको छ । उनका एक मात्रै छोराको समेत मृत्यु भइसकेको छ । उनका आमा बाबुका आठ सन्तान मध्ये सबैभन्दा जेठी एमा हुन् । उनीहरूको परिवारकै धेरै समय बाँच्ने जीन रहेको बताइएको छ ।
उनकी आमा पनि नब्बे बर्षको उमेरसम्म बाँचेकी थिइन् भने उनका केही बहिनीहरूले सय बर्षको उमेर पार गरेका थिए । एमाको मृत्युपछि विश्वको सबैभन्दा बढी उमेरको जीवित व्यक्तिको रूपमा जमैकाकी भायोलेट ब्राउन्ड रहेकी छन् । उनको उमेर ११७ बर्ष ३७ दिन रहेको छ ।