एजेन्सी ३ वैशाख ।
उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्रबाट गरेको मिसाइल परीक्षण असफल भएको दक्षिण कोरियाली सेनाले जनाएको छ । स्थानीय समय अनुसार आज बिहान परिक्षण गरेको असफल मिसाइलको क्षमताका बारेमा केही खुलेको छैन ।
अमेरिकालाई आफ्नो देश जुनसुनै प्रकारको परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको भोलिपल्ट उत्तर कोरियाले असफल मिसाइल परीक्षण गरेको हो ।
उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीका अवसर हिजो एक विज्ञप्ती जारी गर्दै उत्तर कोरियाले अमेरिकाले सैन्य गतिविधि नरोके प्रतिकारमा उत्रने चेतावनी दिएको थियो ।
अमेरिकाले कोरियाली प्रयाद्विपमा नौसेनाको युद्ध तोप टुकडी स्थापना गरेपछि तनाव थप बढेको छ । यसअघि चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएपनि उसले आणविक तथा मिसाइल परीक्षणको कार्यलाइई निरन्तरता दिँदै आएको छ ।