एजेन्सी, चैत्र ३० ।
जर्मनको फुटबल क्लब बोरुसीया डर्टमण्डका खेलाडी बोकेर जाँदै गरेको बसमा बम आक्रमण भएको छ । खेलाडी बोकेको गाडीलाई लक्षित गर्दै बम आक्रमण भएपछि गएराति हुनुपर्ने च्याम्पियन्स लिगअन्तर्गत मोनाको विरुद्धको खेल स्थगित गरिएको छ ।
जर्मनको डर्टमण्डस्थित रंगशालातर्फ जाँदै गरेको बसमा तीन वटा बम आक्रमण गरिएको थियो । स्थानीय अधिकारीले जनाएअनुसार एउटा बम बसनजिकै विष्फोट भएको जनाएका छन् । विष्फोटमा परी फुटबल खेलाडी मार्क बाट्रा घाइते भएका छन् । अन्य खेलाडी तथा अफिसियल कर्मचारी सकुशल रहेका छन् ।
विष्फोटलगत्तै सबै खेलाडीहरूलाई प्रहरीले विशेष सुरक्षा दिएर सम्बन्धित होटलमा पु¥याएको जनाएको छ ।खेल हेर्न रंगशाला पुगेका करिब ८० हजार दर्शकलाई केही समयपछि प्रहरीले विशेष सुरक्षासहित बाहिर निकालेका थिए ।
उक्त घटना जर्मन फुटबल क्लब डर्टमण्डका खेलाडीलाई लक्षित गरी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो घटनापश्चात स्थगित हुन पुगेको खेल आज खेलाइने भएको छ ।