एजेन्सी, चैत्र २७ ।
एक समाचार वाचिकाले समाचार पढ्दा पढ्दै जब ब्रेकिङ न्यूज आयो तब आफ्नै पतिको मृत्युको समाचार पढ्न बाध्य भइन् । तर, उनी अलिकति पनि उदास र निराश भइनन् ।
आईबीसी २४ च्यानलमा कार्यरत एक न्यूज एङ्कर सुप्रित कौरले आफ्नै पतिको मृत्युको खबर पढ्नु परेको हो । दर्शकहरूलाई देश र दुनियाँको खबर सुनाउने सुप्रित कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्यूज आफैँले पढ्नु पर्यो ।
तर, न्यूज एङ्करको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ र उनको साहसलाई सलामसमेत भनेका छन् । साथै यो घटनालाई लिएर दुःख पनि व्यक्त गरेका छन् ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रितका पति हर्षद गावडेको मृत्युमा दुःख जनाएका छन् । घटना हो शनिबारको । जब आईबीसी २४ च्यानलको लाईभ न्यूज बुलेटिनको प्रशारणका क्रममा न्यूज एङ्कर सुप्रित कौर समाचार पढिरहेकी थिइन् ।
त्यहीँ बेला सडक दुर्घटनाको ब्रेकिङ न्यूज आयो । राष्ट्रिय राजमार्ग ३५३ मा भएको सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो, जसमा सुप्रितका पति पनि परे ।
रिपोर्टरसँग लाईभ कुरा गर्दा नै एङ्कर सुप्रित कौरलाई शंका लागेको थियो की दुर्घटनामा मृत्यु भएका व्यक्तिमा उनका पति पनि छन् । त्यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र पूरा न्यूज बुलेटिन पढिन् । एनडीटीभीकाअनुसार न्यूज बुलेटिन पढिसकेपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् ।
स्टुडियोबाट बाहिर निस्कनासाथ उनलाई आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीकाअनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो । तर उनीहरूमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रितले दुःखद् घडीमा पनि साहसका साथ कर्तव्य निभाएको भन्दै सलामसमेत भनेका छन् ।