एजेन्सी २६ चैत्र ।
अमेरिकाले सिरियामाथि मिसाइल आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघले परिस्थिति थप बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामा अवस्था थप बिग्रन नदिनेतर्फ सचेत रहन आग्रह गर्नुभएको छ ।
सिरिया सरकारले भने अमेरिकी आक्रमणलाई गैरजिम्मेवार र हतारमा उठाएको कदम भनेको छ । रासायनिक आक्रमणका लागि प्रयोग गरेको सैन्य अखडालाई निशाना बनाउँदै अमेरिकाले हिजो सिरियामाथि मिसाइल प्रहार गरेको थियो ।
सुरक्षा परिषदको अध्यक्षता गरिरहेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले मिसाइल आक्रमण चेतावनीका लागि मात्र भएको र सिरियाले परिस्थिति नसुधारे थप कारबाही गर्न अमेरिका तयार रहेको चेतावनी दिनुभयो ।
अमेरिकी आक्रमणको ब्रिटेन, फ्रान्स, टर्की र आउदी अरब लगायतका राष्ट्रले समर्थन गरेका जनाएका छन् भने रुस इरानले आक्रमणको निन्दा गरेका छन् । सिरियाकै सरकारी विरोधि विद्रोही समुहले पनि अमेरिकी आक्रमणको स्वागत गरेको जनाइएको छ ।
अमेरिकी आक्रमणपछि रुसले सिरियाली वायू सेनाको क्षमता बढाउने घोषणा गर्दै सिरियामा हवाइ आक्रमण रोक्ने सम्बन्धमा अमेरिकासँग गरेको सम्झौता रद्द गरेको जनाइएको छ ।
आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेको भन्दै सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले सिरियाली हवाई अखडालाई निशाना बनाई ५९ वटा टामहाक क्रुज मिसाइल प्रहार गरेको थियो ।