एजेन्सी, चैत्र २५ ।
अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । सिरिया सरकारले आफ्नै देशका नागरिकविरुद्ध हतियार प्रयोग गरेर नागरिकलाई आत्महत्या गराएपछि सिरियाली शासक बशर अल असदविरुद्ध अमेरिकाले आक्रमण थालेको हो ।
सिरियाको पूर्वी र भू–मध्य क्षेत्रमा अमेरिकाले ५९ वटा टामहाक क्रूज मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले जनाएको छ । अमेरिकाले मिसाइल प्रहारको निशाना सिरियाको हवाई अखडालाई बनाएको छ ।
सिरियामा रासायनिक हतियार प्रहार गर्नका लागि प्रयोग गरिएको हवाई अखडाहरूमा आक्रमण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले नै निर्देशन दिएको जनाएको छ । ट्रम्पले सिरियामा भइरहेको द्वन्द्व अन्त्यका लागि संसारका सभ्य मुलुकलाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।
सिरियाली राष्ट्रपति बसर अल असदको तानाशाही सत्ताले आफ्नै देशका नागरिकविरुद्ध रसायनिक हतियार प्रयोग गरेका कारण उनको त्यस देशमा कुनै भूमिका नहुने गरी कदम चालिने पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बताए ।
अब सिरियाका राष्ट्रपतिलाई कुनै पनि राजनीतिक गतिविधिमा नअटाउने गरी हटाउने तयारीमा रहेको अमेरिकाले जनाएको छ । सरियाली नागरिकको सुरक्षाका लागि सैन्य हस्तक्षेप जरुरी रहेको भन्दै अमेरिकी रक्षा मन्त्रालय र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीच छलफल भएलगत्तै अमेरिकाले सिरियाविरुद्ध मिसाइल आक्रमण सुरु गरिएको हो ।