एजेन्सी, चैत्र २२ ।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा आज बिहानै भएको विषालु ग्याँस आक्रमणमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरू इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ । ग्याँस आक्रमणमा परी अन्य धेरै जनालाई स्वाशप्रश्वाशमा समस्या भएको जनाइएको छ ।
बेलायतस्थित अनुगमनकर्ताको समूहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको बताएको छ । सो समूहले सूचना सङ्कलनका लागि सिरियामा आफ्नो संयन्त्र परिचालन गरेको छ । आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरू संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् ।