एजेन्सी, चैत्र २१ ।
टर्कीमा सन् २०१६ जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा प्रदर्शनकारीहरू पक्राउमा परिरहेको छ । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।
टर्कीमा पक्राउ परेका मध्ये दश हजार सात सय ३२ जना प्रहरी अधिकृत, सात हजार छ सय ४३ जना सैनिक सिपाही, एक सय ६८ जना सैनिक जर्नेल, दुई हजार पाँच सय ७५ जना न्यायाधीश तथा न्यायधिवक्ताहरू, २६ हजार एक सय ७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका हुन् ।
गृहमन्त्री सोयलुकाअनुसार पक्राउ परेका २३ हजार अाठ सय ६१ जनालाई हिरासतमुक्त गरिएको छ भने अाठ सय ६३ जना अझै पनि फरार रहेका छन् ।
अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कू गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ ।