एजेन्सी ६ चैत्र ।
नेपालसँग सिमा जोडिएका भारत उत्तर प्रदेशका नव नियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
भारतीय जनता पार्टीको हिजो बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्रीमा चयन गरेको हो । उहाँले आज लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिने कार्यक्रम छ ।
योगीको सपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाह लगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्य निर्वाचित हुनु भएको हो ।
बिजेपीले दिनेश शर्मा र केशवप्रसाद मौर्यलाई उप–मुख्यमन्त्रीमा छनोट गरेको छ । हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर प्रदेशका ४ सय ३ सिटमध्ये ३ सय २५ सिटमा विजयी भएको थियो ।
विवादित अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहने योगी आदित्यनाथ उत्तर प्रदेश विधानसभा चुनावका बेला सबैभन्दा बढी र्याली गर्ने नेता समेत हुन् ।