एजेन्सी फागुन १७।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ का लागि प्रस्तावित बजेटमा रक्षामा ५४ अर्ब डलर अर्थात झण्डै १० प्रतिशत रकम बढाउने तयारी गर्नु भएको छ ।
वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउन ट्रम्पले प्रस्ताव गर्नु भएको हो ।
बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने ट्रम्पको भनाइ छ । सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मे मा कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी गरिएको हो ।
उनले पूर्वाधार विकासमा पनि खर्च बढाउने बताउँदै आएका छन् । ट्रम्पको आधारभूत आर्थिक योजनाका कारण अमेरिकी शेयर बजार लगातार बढिरहेको बताइएको छ । १२ दिनदेखि अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेर बन्द भएको छ ।