एजेन्सी फागुन ९।
इराकी सेनाले मोसुलको पश्चिमी क्षेत्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान सुरु गरेपछि त्यहाँका बासिन्दाको सुरक्षाको विषयमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
तीन हजार भन्दा धेरै आइएसका लडाकु रहेका मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेनाले आफ्ना सहयोगी लडाकुको साथमा हिजो देखि कारबाही अभियान सुरु गरेको हो ।
आइएसको कब्जामा रहेको मोसुलको पश्चिमी क्षेत्रमा अहिले पनि ६ लाख ५० हजार भन्दा धेरै मानिसको बसोबास रहेको र कारवाही अभियानको क्रममा उनीहरुको सुरक्षा खतरमा परेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
उनीहरु खाद्यान्न, पानी, बिजुली तथा इन्धनको अभावमा बाँच्न बाध्य रहेको र कारवाही अभियानको क्रममा ज्यान नै जान सक्ने खतरा पनि रहेको भन्दै उनीहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिन राष्ट्रसंघले आग्रह गरेको छ ।
सरकारी सेनाले सहयोगी लडाकुको सहयोगमा गएको जनवरीमा आइएसको पकड रहेको मोसुलको पूर्वी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो ।