काठमाडौं, फागुन ५।
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेष्टायनबीच चल्दै आएको द्धन्द्ध समाधानका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गर्नु भएको छ ।
ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको घोषणा गर्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उहाँले एक वृहत शान्ति सम्झौता गराउने दाबी समेत गर्नु भयो । तर त्यसका लागि दुइ राष्टले केही सम्झौता गर्नु पर्ने बताउनु भएको छ । ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गर्नु भएको छ ।
गत महिना मात्र ट्रम्प राष्ट्रपति बन्ने बित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुशलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो । सन् २०१४ देखि इजरायल र प्यालेष्टायनबीच वार्ता हुन सकेको छैन ।
इजरायल र प्यालेष्टायनबीच दशकौंको संघर्ष समाधानका लागि दुई पक्षका नेता र अन्तर्रा्ष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाएका थिए ।
यसै आधारमा पश्चिमी किनारा, गजापट्टी र पूर्वी जेरुशलममा १९६७ को युद्धविराम रेखाभन्दा पहिलाको क्षेत्रमा एक स्वतन्त्र प्यालेष्टायनी राष्ट्र बनाइने र उसले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध बनाउने भन्ने थियो ।
यसमा संयुक्त राष्ट्रसंघ, अरब लीग, यूरोपीय यूनियन, रुस र अमेरिकाले पटक पटक आफ्नो प्रतिवद्धता जनाएका थिए । तर अहिले ट्रम्पले उक्त नीतिबाट पछि हट्ने संकेत दिनु भएको हो ।