एजेन्सी , माघ २८ ।
अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम बिष्फोटका प्रमुख योजनाकार कारी मुसिब मारिएका छन् ।
मुसिब अमेरिकी–अफगान संयुक्त प्रतिरक्षा सैन्यटोलीको हवाइ प्रहारबाट पुर्वी अफगानिस्तानमा मारिएको जनाईएको छ । अफगान राष्ट्रपति असरफ घानीको कार्यालयले पनि नेता मुसिब संयुक्त हवाइ आक्रमणमा परेर मारिएको पुष्टी गरेको छ ।
गत वर्ष जुन १९ मा काबुल नजिकै जलालाबाद रोडमा भएको बिष्फोटमा परेर १२ नेपाली कामदारको घटनास्थलमैं मृत्यु भएको थियो ।
अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको सूचनामा इस्लामिक राज्य स्थापना अन्तर्गतको खोरासन क्षेत्रका प्रमुख नेताका रुपमा चिनिएका कारी मुसिबले काबुलमा लगातार भैरहेका आतंकबादी हमला र पछिल्लोपटक पाकिस्तान सिमावर्ती नानगारर अचिन जिल्लामा पनि ठूलो जनधनको क्षति हुनेगरी बिष्फोट गराएका थिए ।
सो बिष्फोटमा परेर सेबर इन्टरनेशनल मार्फत काबुलस्थित क्यानडाली राजदूतावासमा कार्यरत नेपाली सुरक्षा गार्डहरु मारिएका थिए । गत बर्ष जुन र जुलाइमा भएका काबुल बिष्फोटका घटनामा १ सयभन्दा बढी सर्वसाधारणको हत्या भएको थियो ।