एजेन्सी २४ माघ ।
अमेरिकी राष्टपति डोनाल्ड टम्पले सिमानाकाहरुमा कडाई गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सीमाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउदै अमेरिका भित्रनेहरुमाथि सावधानीपूर्वक जाँच तथा कडा निगरानी राख्न निर्देशन दिनुभएको हो ।
सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास विफल भएपछि रुष्ट बनेका टम्पले अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी न्यायाधीश र अदालती पद्धतीले लिनुपर्ने चेतावनी समेत दिनुभएको छ ।
अदालतले आफ्नो कामलाई निकै कठीन पारिदिएको टम्पको भनाई छ । आफ्नो निर्देशनविरुद्ध अन्तरिम आदेश जारी गर्ने संघीय अदालतको निर्णयविरुद्ध ट्रम्प प्रशासनले अपील गरेपनि पुनरावेदन अदालतले उक्त अपील अस्वीकार गरिदिएको छ ।
राज्यका न्यायाधीशहरुले राष्ट्रपतिको आदेश असंवैधानिक र विभेदकारी रहेको तर्क गर्दै तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेका थिए । त्यसविरुद्धको अपील पनि आफ्नो पक्षमा नभएपछि राष्ट्रपति ट्रम्पले सुरक्षा अधिकारीलाई तयस्तो निर्देशन दिनुभएको हो ।
ट्रम्पले इराक, सीरिया, इरान, लीबिया, सोमालिया, सूडान र यमनी नागरिक ९० दिनसम्म अमेरिका प्रवेश गर्न नपाउने कार्यकारी आदेश जारी गर्नुभएको थियो । त्यस लगत्तै अमेरिकाले चार महिनाका लागि शरणार्थी प्रवेशमा रोक लगाएको छ भने सिरियाली शरणार्थीले अर्को आदेश नआएसम्म प्रवेश नपाउने निर्णय गरेको छ ।