एजेन्सि, २१ माघ ।
म्यानमारका राष्ट्रपति उ टिन क्याव चार दिने सद्भाव भ्रमणको क्रममा आज कम्बोडियाको राजधानी न्होमपेन्ह पुग्नु भएको छ ।
गत वर्षको मार्च महिनामा पदभार ग्रहण गरे पश्चात् राष्ट्रपति क्यावको यो पहिलो कम्बोडिया भ्रमण भएको जनाइएको छ ।
कम्बोडियाका नरेश नरोडम सिंहमोनिको निमन्त्रणामा कम्बोडिया पुग्नुभएका उहाँले आज साझ रात्रिभोजमा सहभागीता जनाउनु हुनेछ ।
यस्तै भोली बिहान प्रधानमन्त्री निवास – पिस प्यालेसमा राष्ट्रपति क्याव र कम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनकाबीच द्विपक्षीय हितका विषयमा वार्तालाप हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति क्याव स्वदेश फर्कनु अघि उहाँलाई उत्तर–पश्चिमी कम्बोडियाको सिम रिप प्रान्तमा अवस्थित तथा विश्व सम्पदा सूचिमा सूचिकृत एङ्कर पुरातात्विक स्मारकस्थलको अवलोकन गराइने छ ।
प्रजातन्त्रबादी विश्वप्रसिद्ध नेतृ आङग सान सुकिको अध्यक्षतामा रहेको सत्तारुढ दल – नेशनल लिग फर डेमोक्यासिका एक हस्तीको रुपमा रहनु भएका उ टिन क्याव गत वर्षको मार्च महिनामा म्यानमारको राष्ट्रपति पदमा निर्वा्चित हुनु भएको थियो ।