एजेन्सी १८ माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नितिका सम्बन्धमा गरेको निर्णयप्रति विश्वका विभिन्न देशमा रहेका सयौं अमेरिकी कुटनीतिज्ञले विरोध जनाएका छन् ।
राष्ट्रपति ट्रम्पको विभिन्न सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी निर्णयको अमेरिकी कुटनीतिज्ञले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेको हो ।
विदेश मन्त्रालयका अधिकारीले राष्ट्रपति ट्रम्पको निर्णयको विरोधका लागि संयुक्त वक्तव्य समेत तयार गरेको बिबिसीले उल्लेख गरेको छ । केही चरमपन्थीलाई रोक्ने नाममा अन्य वैध आप्रवासीको प्रवेश रोक्नु गैरकाुनी कादम भएको उनीहरुको ठहर छ ।
कुटनीतिज्ञले तयार गरेको वक्तव्यमा आप्रवासीमाथिको प्रतिबन्धले विश्वभर अमेरिकाका विषयमा नकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरिएको छ । यसअघि पनि कुटनीतिज्ञको यस्तो वक्तव्य आउने गरेको भएपनि सयौं कुटनीतिज्ञले एकसाथ हस्ताक्षरसहित विरोध गर्न लागेको भने पहिलो घटना हो ।
यस्तै पूर्व राष्ट्रपति बाराक ओबामाले पनि एक वक्तव्य जारी गरेर ट्रम्पको निर्देशनको विरोध गर्नुभएको छ । अमेरिकाले कुनै पनि मानिसलाई आस्था र धर्मका आधारमा विभेद नगर्ने भएपनि पछिल्लो निर्देशनले अमेरिकाको त्यो छवि बिग्रँदै गएकोमा ओबामाले चिन्ता व्यक्त गर्नुभएको छ ।