एजेन्सी, माघ १७ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय प्रति अन्तर्रा्ष्ट्रिय रुपमा चर्को आलोचना भएको छ । शरणार्थी तथा सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय प्रति अन्तराष्ट्रिय स्तरमै चर्काे आलोचना भएको हो ।
अन्तर्रा्ष्ट्रिय जनमत मात्र नभई स्वयं अमेरिकी एक अदालतले समेत ट्रम्पको निर्णय विरुद्ध अन्तरिम आदेश दिइसकेको छ ।
अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ह्वाइट हाउसमा ट्रम्पसँग पहिलो अन्तर्रा्ष्ट्रिय नेताका रुपमा भेट गर्न लागेकी बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि विदेश मन्त्रालयमार्फत् ट्रम्पको निर्णयप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।
बेलायती लेबर पार्टीका नेता जेरेमी कार्बिनले ट्रम्पको बेलायत यात्रा नै रोक्नुपर्ने प्रस्ताव गर्नु भएको छ । ट्रम्पले आफ्नो निर्णय फिर्ता नलिए सम्म बेलायत आउन दिन नहुने उहाँको भनाइ छ ।
ट्रम्पको निर्णयको आलोचना गर्दै जर्मन चान्सलर एञ्जेला मर्केलले यस रवैयाबाट आतंकवादसँग लड्न नसकिने प्रष्ट पार्नु भएको छ । यस्तै ईरान र इराकले ट्रम्पको निर्णय पछि अमेरिकी नागरिकलाई पनि आफ्नो देशमा प्रवेश नदिने प्रष्ट पारिसकेका छन् ।
राष्ट्रपति ट्रम्पले भने आफ्नो फैसलाको बचाउ गर्दै यस निर्णयबाट हलचल पैदा हुनपर्ने कुनै कारण नभएको टिप्पणी गर्नू भएको छ ।