काठमााडौ ११ माघ ।
सामाजिक सन्जाल फेसबुकले प्रयोगमा ल्याएको ‘लाइभ स्ट्रिमिङ’ को दुरुपयोग पछिल्लो समय बढ्दै गएको छ । स्वीडेनमा आइतबार सामूहिक बलात्कारको दृष्य फेसबुकमा ‘लाइभ’ भएपछि फेसबुकको यो ‘बटन’ को दुरुपयोग बढ्न थालेकोमा चिन्ता गरिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक घण्टाको दुरीमा रहेको उप्पसालामा आइतबार तीन युवकले एक युवतीको सामूहिक बलात्कार गरेको दृश्य फेसबुकमा प्रत्यक्ष प्रशारण भएको थियो ।
सो क्रममा भिडियो हेरेकी एक महिलाले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले तीन बलात्कारीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले पीडित युवतीको उद्धार गरी उपचारका लागि अस्पताल लगेको छ ।
प्रहरीका अनुसार गिरफ्तार गरिएका तीन युवाको उमेर १९ देखि २५ वर्षसम्म रहेको छ । पीडित युवती र बलात्कारीको पहिचान प्रहरीले खुलाएको छैन । फेसबुकमा लाइभ दिएको सामूहिक बलात्कारको दृष्य २ सया भन्दा बढीले हेरेको थियो ।