ढाका, ३ माघ । बङ्गलादेशमा अपहरण तथा हत्याको आरोपमा २६ जनालाई मृत्युदण्डको सजाय दिएको छ ।
सन् २०१४ को अप्रिलमा नारायणगञ्ज नगरमा सात व्यक्तिको अपहरण तथा हत्याको भएको मुद्दामा सुनुवाइ गदै एक अदालतले २६ जनालाई मृत्युदण्डको सजाय दिएको हो ।
सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई उपयोग गरकोबारे सुनुवाइ सकेपछि न्यायधिसले ३५ प्रतिवादीलाई दोषी ठहर गरेका छन् ।
नारायणगञ्जमा एक वर्षसम्म चलेको सुनुवाइपछि न्यायाधीश सयद इनायत हुसेनले २६ व्यक्तिलाई झुण्ड्याउन तथा नौ व्यक्तिलाई सात देखि १७ वर्षसम्म कारागारमा राख्न आदेश दिनुभएको छ ।
प्रत्यक्षदर्शीले नगरको अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानबाहिर सात व्यक्तिलाई नम्बर नभएको एक गाडीमा बाँधिएको अवस्थामा देखिएको सूचना दिएको तीन दिनपछि उनीहरूको शव नदीमा तैरिएको अवस्थामा फेला परेको थियो ।
मृत्युदण्डको आदेश पाउनेमा ‘‘¥यापिड एक्सन बटालियन’’ का कमान्डर तथा प्रधानमन्त्री सेख हसिनाको मन्त्रिपरिषदका एक सदस्यका ज्वाइँ तारेक सइद पनि परेका छन् ।
सरकारी वकिलहरूले सुनुवाइमा नारायणगञ्जमा स्थानीय परिषद् सदस्य तथा हसिनाको अवामी लिगका सदस्य नुर हुसेनले आफ्ना प्रतिद्वन्द्वी नजरुल इस्लाम तथा उनका चार सहयोगीलाई मार्नका लागि ‘‘¥यापिड एक्सन बटालियन’’ का अधिकारीहरूलाई भाडामा लिएको विषयमा जानकारी दिएका थिए ।
क्रिकेट मैदानबाहिर अपहरणको भिडियो आफ्नो मोबाइल फोनमा खिच्ने एक वकिल तथा निजको चालक पनि पछि अपहरणमा परेका थिए ।
यी सातै व्यक्तिको हत्या गरिएको थियो र उनीहरूको शव नगरबाहिर शितलक्ष्य नदीमा बगाउनु अगाडि उनीहरूको पेट काटिएको थियो ।
अदालतबाहिर वादीका वकिल शखवात हुसेनले आफूहरूले अन्त्यमा न्याय पाएको र सन्तुष्ट भएको बताए ।