एजेन्सी, माघ ३ ।
अमेरिकी गुप्तचर निकाय ‘सीआइए’का प्रमुख जोन ब्रेननले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जथाभावी नबोली आफ्नो बोलीमा नियन्त्रण गर्न चेतावनी दिनु भएको छ ।
सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हाले पछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै सामान्य टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिनु भएको हो ।
फक्स न्युजसँगको कुराकानीका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपति जस्तो व्यक्तिले ट्वीटरमार्फत अन्तर्रा्ष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताउनु भयो ।
ट्रम्पले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विषयमा नियमितजसो ट्वीटर मार्फत टिप्पणी गर्दै आउनु भएको छ । तर ट्रम्पको विचार अब व्यक्तिगत मात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले बोलीमा नियन्त्रण कायम गर्नु पर्ने ब्रेननको भनाइ छ ।
सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ब्रेननले कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाइ वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन ब्रेननले चेतावनी दिनु भएको हो । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आगामी जनवरी २० तारिखमा राष्टपतिको पद तथा गोपनियताको शपथ लिनु हुनेछ ।