एजेन्सी २७ पौष ।
अमेरिकाको साउथ क्यारोलिनामा सन् २०१५ मा अश्वेत व्यक्तिको हत्या प्रकरणमा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ ।
साउथ क्यारोलिनाको जिल्ला अदालतमा भएको बहसमा १२ जना न्यायाधीशको जुरीले अन्धाधुन्ध गोली प्रहार गरी ९ जना अश्वेत व्यक्तिको हत्या गर्ने डेलन रुफलाई मृत्युदण्ड दिइनु पर्ने बताएका हुन् ।
१० महिला र दुई पुरुष सदस्य रहेको जुरीले लामो समयको छलफलपछ उक्त निर्णय गरेका हुन् । २२ वर्षीय रुफले सन् २०१५ को जुन १७ मा ऐतिहासिक ब्ल्याक चार्लस्टोन चर्चमा आक्रमण गरी ९ जना अश्वेत नागरिकको हत्या गरेका थिए ।
न्यायाधीश रिचार्ड गर्गेलले आज रुफ विरुद्ध मृत्युदण्डको औपचारिक फैसला सुनाउनु हुनेछ । आफूविरुद्ध मृत्यु दण्डको फैसला हुने थाहा पाएपछि अदालतमा उपस्थित रुफले आफूले नयाँ वकिल पाउनु पर्ने र मुद्दाको पुनरावलोकन हुनु पर्ने बताएका थिए ।
यस विषयमा रुफले आज आफ्नो विचार राख्न पाउने भएका छन् । रुफले प्रहरीसँग जातिय युद्ध सुरु गर्न चाहेको बताएको सिएनएनले जनाएको छ ।