एजेन्सी,पुस १९।
ब्राजिलको एक जेलमा कैदीबन्दी बिच भएको झडपमा परि ५६ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरी राज्य अमेजोनसमा रहेको जेलमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् ।
टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि जेलमा केदी बन्दी विच झडप सुरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
१७ घण्टासम्म कैदीबन्दी विच भएको झडपका क्रममा केही कैदी फरार भएका छन् । फरार भएका मध्ये ४० जनालाई भने पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
क्षमता भन्दा बढी कैदी रहेको जेलमा कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए । तर १७ घण्टापछि उनीहरुले आत्मसमर्पण गरेका छन् । चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी रहेका छन् ।
ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् ।